नियम
सचिवको काम
(१) प्रमुख आयुक्तको सामान्य निर्देशन र नियन्त्रणमा रही आयोगको प्रशासकीय काम कारवाई सञ्चालन गर्नु सचिवको प्रमुख कर्तव्य हुनेछ ।
(२) उपनियम (१) मा लेखिएदेखि बाहेक सचिवको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) आयोगमा प्राप्त हुन आएका उजुरी निवेदन, स्पष्टीकरण र प्रतिवेदन दर्ता गर्ने, गराउने,
(ख) आयोगमा छलफलको लागि पेश गर्नु पर्ने विषयवस्तु तयार गरी पेश गर्ने, गराउने,
(ग) आयोगको निर्णय कार्यान्वयन गर्ने, गराउने,
(घ) आफू मातहतका कर्मचारीहरूलाई कामको बाँडफाड गर्ने,
(ङ) आयोग, आयोगको प्रत्यक्ष मातहतमा रहेका कार्यालय तथा आयोगले अधिकार प्रत्यायोजन गरेका कार्यालयको मानव संसाधनको विकास सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने गराउने,
(च) आयोगको कामसँग सम्बन्धित विषयमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न कर्मचारीको क्षमता अभिबृद्धि सम्बन्धी कार्यक्रम
संचालन गर्ने, गराउने,
(छ) आयोगको कामसँग सम्बन्धित विषयमा अध्ययन, अन्वेषण गर्ने, गराउने ।
(ज) आयोगको कामसँग सम्बन्धित विषयका अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग आवश्यक सम्पर्क र समन्वय गर्ने, गराउने,
(झ) नेपाल सरकारका कार्यालय, प्रदेश सरकारका कार्यालय, स्थानीय तह, नागरिक समाज र अन्य सम्बद्ध निकायहरूसँग आयोगको तर्फबाट समन्वय कायम गर्ने, गराउने,
(ञ) आयोगको काम कारवाहीको प्रभावकारीता अभिवृद्धिको लागि तालीम, गोष्ठी, कार्यशाला जस्ता प्रवर्धनात्मक कार्यक्रम संचालन
गर्ने, गराउने,
(ट) अनुचित कार्य तथा भ्रष्टाचार विरुद्ध जनचेतना अभिवृद्धि गर्न संचार माध्यमको उपयोग गरी प्रचार प्रसार गर्ने, गराउने,
(ठ) आयोगको सहभागितामा अन्य निकायहरूसँग मिली सञ्चालन गरिएका सहकार्यमा समन्वय गर्ने, गराउने,
(ड) आयोगले आदेश तथा निर्देशन दिए बमोजिमका अन्य कार्य गर्ने, गराउने,
(ढ) आयोगका निर्णयहरू कार्यान्वयन गर्न आवश्यक पर्ने अन्य कामहरू गर्ने, गराउने,
(ण) खण्ड (क) देखि (ढ) सम्मको काम, कर्तव्य तथा अधिकारको पालना गर्दा गराउँदा आवश्यक पर्ने अन्य काम गर्ने, गराउने ।
(३) यस नियम बमोजिम सचिवले आफूलाई प्राप्त अधिकारमध्ये कुनै अधिकार आयोगको अधिकृतस्तरको अन्य कुनै कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।